ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाइयो
2 वर्ष पहिले प्रकाशित
वैशाख २२, २०८० विनोद ठाकुर
सिरहा— ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका ४७ वर्षे वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाएको छ । सिरहा नगरपालिका–१४ का सदालाई ब्रेन ह्यामरेज भएपछि परिवारले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पताल पुर्याएका थिए । २० दिनपछि उनको मृत्यु भयो । अस्पतालले परिवारले पैसा तिरेर मात्रै शव लैजान पाउने भन्दै रोकेको हो ।
वीरेन्द्रकी श्रीमती मालतीले उपचार खर्च जुटाउन नसकेकै कारण श्रीमान्को मृत्यु भएको दुखेसो सुनाइन् । ‘आफ्नो न घर, न जग्गा । साहुसँग हारगुहार गरेर ऋण खोज्दा दुई लाख जुटाएर अस्पताल पुर्याएँ,’ उनले भनिन्, ‘त्यतिले उपचार गर्न पुगेन । उपचारमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले लास पनि दिएको छैन ।’
गाउँमा गरिखाने आधार नभएपछि मिर्चैयामा डेरा गरेर बसेका वीरेन्द्र नजिकै अपुर साहको पुस्तक पसलमा काम गर्थे । २७ चैतमा काम गर्दागर्दै ढलेका वीरेन्द्रलाई जनकपुरमा प्राथमिक उपचारपछि भोलिपल्ट न्युरो अस्पताल पुर्याइएको थियो । आईसीयूमा राखेर उपचार थालेपछि डाक्टरले बिरामी ठीक हुने तर केही महिना वा वर्ष पनि लाग्न सक्ने बताएका थिए ।
‘आईसीयूमा राखेर उपचार भइरहेको थियो, खर्च बढेको बढ्यै । भर गरेका साहुसँग कपाली गरेर दुई लाख रुपैयाँ त जुटाएँ । तर त्योभन्दा धेरै पैसा जुटाउन सकिनँ,’ मालतीले भनिन्, ‘अस्पतालले यिनीहरू मधेशका सदा हुन्, पैसा बुझाउन सक्दैनन्, बेलैमा घर पठाइदिऔं भन्न थालेको थियो । तर, मैले म पैसाको बन्दोबस्त गर्छु, उहाँलाई बचाइदिनुस् भनें ।’
पैसा नतिरे जायजेथाबाट असुली गर्ने गरी अस्पतालले कागजमा हस्ताक्षर गराएपछि पैसा खोज्न घर फर्किएको उनले बताईन् । ‘त्यसको तीन दिनपछि उहाँ बित्नुभएको खबर आयो । मसँग उहाँको अन्तिम संस्कार गर्ने पैसा छैन, अस्पताललाई कहाँबाट तिरूँ रु सबैसँग हारगुहार गरिसकें, मुसहर भनेर कसैले दिँदैनन् ।’
बिरामीलाई छोडेर पैसा खोज्न घर फर्किएकी मालतीलाई गत सोमबार बिहान अस्पतालले फोन गरेर श्रीमान् बितेको खबर सुनाएको थियो ।
बेहोस् भएका वीरेन्द्र उपचारपछि आँखा खोल्ने र ‘आँखाको भावमा कुराकानी गर्ने’ भइसकेको उनले बताइन् । तर, पैसा नभएकाले श्रीमान्लाई बचाउन नसकेको भन्दै भक्कानिन्छिन् । बिरामी श्रीमान्को उपचार गर्ने पैसा खोज्न घर फर्किएकी उनी अस्पताल फर्किन सकेकी छैनन् । आमाले पैसा लिएर आउने र शव लैजाने आसमा विराटनगरमा छोरा अंकित शव कुरेर बसेका छन् ।
आफूसँग पैसा छैन भन्दा अस्पतालले पैसा नल्याए शव लैजान नपाउने र अगाडि गरेको कागजका आधारमा जायजेथाबाट असुलेर मात्र शव दिने भनेको उनले बताइन् । अस्पतालका अनुसार वीरेन्द्रको उपचारमा लागेको ३ लाख ३५ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, नजिकको अर्यान फार्मेसीमा औषधि खरिद गरेको २ लाख ६५ हजार रुपैयाँ उधारो छ । ‘आमा र मामाहरू घरबाट पैसा लिएर आउने भनेर जानुभएको छ तर तीन दिन भयो, आउनुभएको छैन,’ छोरा अंकितले भने । उनी औषधि उधारो दिने फार्मेसीमै बसेका छन् ।
अस्पतालले भने पैसा लिएर आउने भनेर हिँडेका मृतकका आफन्त सम्पर्कविहीन भएको दाबी गरेको छ । प्रशासन प्रमुख मात्रिका पोखरेलले मृतकका आफन्त पैसा लिएर आउने भन्दै शव छाडेर हिँडेपछि फर्केर नआएको बताए । उनले परिवार सम्पर्कमा आए अस्पतालले छुट दिएर भए पनि शव दिन सक्ने बताए । फार्मेसी सञ्चालक समीर आलमले आफूकहाँ २ लाख ६५ हजार रुपैयाँ बाँकी रहेको बताए । ‘औषधिको ३ लाख ३५ हजार भएको हो, त्यसमध्ये ६० हजार बुझाउनुभएको छ, अब २ लाख ६५ हजार बाँकी छ,’ उनले भने, ‘मैले त जमिन बिक्री गरेर पैसा तिर्छु भनेपछि उधारो दिएको थिएँ ।’
उनले मृतकका छोरा अंकितलाई समेत आफूले संरक्षण दिएको दाबी गरे । ‘बाहिर बस्ने अवस्था रहेनछ, उहाँहरू पैसा लिन जानुभएको, आउनुभएन । छोरालाई मैले नै संरक्षण दिएर राखेको छु,’ उनले भने ।
मालती पनि नर्स हुन् । सानैदेखि डाक्टरको रेखदेखमा हुर्किएकी मालतीले सरकारी खर्चमा नर्सिङ पढ्ने मौका पाएकी थिइन् । नर्सिङ पढे पनि उनी ६ वर्षदेखि बेरोजगार छिन् । ०५५ मा कक्षा ६ मा पढ्दापढ्दै वीरेन्द्रसँग बिहे गरेकी मालतीले २०५९ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरिन् । ‘सानैमा बिहे भएपछि आमा भएँ, केटाकेटी हुर्काउँदै कक्षा १२ सम्म पढें,’ मालतीले भनिन् ।
कक्षा १२ सकेपछि उनको सानो छोरा अंशु ९ महिनाको मात्रै थियो । त्यसबेला उनले सरकारी कोटामा नर्स पढ्ने मौका पाइन् । जनकपुर नर्सिङ क्याम्पसबाट नर्सिङ पढेकी उनको पढाइको सबै खर्च सरकारले बेहोर्यो । सरकारले उनलाई मासिक ३५०० रुपैयाँ खर्चसमेत दिएको थियो । काखमा दूधे बालक च्यापेरै उनी २०७० सालमा स्टाफ नर्स बनिन् । त्यसपछि उनको जागिरे जीवन सुरु भयो । तर, त्यो सुखद रहेन ।
मिर्चैयाको एसकेजे पोलिक्लिनिकमा काम गर्न थालेकी उनलाई सुरुवातमा ७ हजार रुपैयाँ तलब दिएको थियो । त्यहाँ उनले ९ महिना काम गरिन् । त्यसबेला सरकारी जागिर खाने उद्देश्यले उनले लोक सेवामा समेत प्रयास गरिन् । धनकुटासम्म पुगेर परीक्षा दिइन् । तर, नाम निस्किएन ।
‘०७१ मा राष्ट्रिय योजना आयोगअन्तर्गत स्वास्थ्य स्वयंसेवकमा नाम निस्कियो । राजविराजस्थित जिल्ला स्वास्थ्य कार्यालयबाट कल्याणपुर स्वास्थ्य चौकीमा नियुक्ति भयो,’ उनले भनिन्, ‘तर मुसहर भएकै कारण त्यहाँ ममाथि राम्रो व्यवहार भएन । कार्यस्थलमा एकदमै धेरै अपमानित हुनुपर्यो ।’
उनले कार्यस्थलमै दुर्व्यवहार र जातीय भेदभाव खेप्नुपरेको थियो । त्यहाँ उनले दुई वर्ष काम गरिन् ।‘घरबाट जान दैनिक दुई सय रुपैयाँ भाडा लाग्थ्यो । महिनामा ६ हजार गाडी भाडामै सकिने,’ उनले अघि भनिन्, ‘बाँकी ६ हजारले परिवार धान्नै मुस्किल थियो, कोठा लिएर बस्ने उपाय थिएन ।’ त्यसपछि उनले जागिर छोडिन् ।
घरजग्गा नभएपछि मिर्चैयामा डेरा गरेर बसेका उनीहरू वीरेन्द्रको मजदुरीबाटै बाँचेका थिए । उनीहरूका दुई छोरा र एक छोरी छन् । महिनाभरि काम गर्दा वीरेन्द्रले २० हजार कमाउँथे । मासिक पाँच हजार डेरा भाडा बुझाउनुपर्छ । बाँकीले घर खर्च चल्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments