धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नगरसभा हुन सकेन,आर्थिक कारोबार ठप्प
2 वर्ष पहिले प्रकाशित
जनकपुरधाम, असोज १ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजेट अहिले सम्म पास हुन नसक्दा नेपालीहरुको महान चाड दसैंमा कर्मचारीहरुले तलब समेत नपाउने अवस्था सृजना भएको छ । विवादको कारण नगरसभा नहुँदा आर्थिक कारोबार गर्न बाटो बन्द भएको छ । मेयर सुखदेव यादवले नगरपालिकामा पत्रकार सम्मेलनमा गरी असार १० गते समय मै नगरपरिषद आरम्भ भएपनि अहिले सम्म परिषद सम्पन्न नभएको बताए । उनले आफूहरु अल्पमतमा रहेको र विपक्षीहरु बहुमतमा रहेको हुँदा नगरपरिषद गर्नमा समस्या भएको बताए । मेयर यादवले परिषद सम्पन्न नभएपछि बजेट पास नभएको हुँदा अहिले नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई चाडपर्वमा समेत तलबभत्ता नखुवाउन सक्ने अवस्था सृजना भएको बताए। उनले परिषद सम्पन्न हुन नसक्दा नगरपालिकाको सबै कामकाज ठप्प भएको बताउँदै उनले भने, “परिषद नहुँदा अहिले सम्म खाता संचालन हुन पाएको छैन, खाता संचालन नहुँदा अहिले इन्धन समेत उधारोमा उपलब्ध नहुने अवस्था भएकोले नगर भित्रको फोहोर उठाउने देखि, एम्बुलेन्स, बारुणयन्त्र संचालन समेत अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकलाई भुक्तानी गर्न नसक्दा अहिले इन्टरसेवा समेत अवरुद्ध भएको हुँदा मालपोत लगायतका राजश्व संकलन समेत अवरुद्ध भएको छ।” मेयर यादवले नगरपालिकाको आन्तरिक श्रोत बजार ठेक्का र बालुवागिट्टीको ठेक्का लगाई सक्नुपर्नेमा पनि अहिले सम्म त्यो काम समेत हुन नसक्दा नगरपालिकालाई करिब वार्षिक ३ करोड घाटा लाग्ने अवस्था देखिएको बताए । उनले अहिले नगरपालिकाबाट समाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने बेला भएकोमा त्यो समेत गर्न नसक्ने अवस्थामा रहेको बताए । यहाँ सम्म कि समाजिक सुरक्षा भत्ताको लागि नविकरण र नयाँ दर्ताको आवेदन लिने कार्यसमेत प्रभावित भएको उनले बताए । मेयर यादवले भने, “नगरपालिकाको १० वडा मध्ये दुई वडा सहित मेयर गरी तीन जना मात्र नेकपा एमालेबाट जीतेका र बाँकी सबै वडा र नगरकार्यपालिका सदस्यहरु नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरु छन् । जसले गर्दा कार्यपालिकाबाट आफूले गरेको कुनै पनि निर्णय कार्यन्वयनमा समस्या भएको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments